Wednesday, August 20, 2025

पुण्य खरेललाई कसरी सम्झूँ ? - मातृका पोखरेल

म साहित्यकार रूद्र खरेलको सङ्गतमा पुग्दाखेरी पुण्य खरेलले काठमाण्डौ छोडिसक्नु भएको थियो । काका रूद्र खरेलको अविभावकत्वमा काठमाण्डौ बस्दा अर्थात् विद्यार्थी जीवनमा पुण्य खरेलले गर्नुभएका बालसुलभ चञ्चलताका प्रकरणहरू ( कैयौं हाँसो उठ्ने खालका ) खरेल परिवार र उहाँका समवयी साथीहरुबाट मैले थुप्रै पटक सुन्ने मौका पाएँ । प्रख्यात निबन्धकार रुद्र खरेलको जेठा दाजुको छोरो अर्थात भतिजो हुनुहुन्थ्यो पुण्य खरेल । पुण्य खरेलले उच्चशिक्षा काका रुद्र खरेलको अविभावकत्वमा काठमाण्डौंमैं भएको रहेछ ।

इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय कार्यसमिति, 'वेदना' साहित्यिक त्रैमासिकको सम्पादक समूहमा रूद्र खरेलसँग लामै समय काम गरेपछि म बागबजारको डेराबाट वि.सं . २०५३ सालमा उहाँको घर कोटेश्वरमा डेरा लिन पुगेँ । उहाँको घर मेरा लागि पारिवारिक वातावरणले सम्पन्न थियो । त्यसपछि मात्र पुण्य खरेलसँग मेरो चिनजान हुन पाएको हो । म कोटेश्वर पुग्दा उहाँले काठमाण्डु छाडिसक्नु भए पनि बेलाबेलामा उहाँ काठमाण्डु आइरहनु हुन्थ्यो र मैले त्यही मौकामा उहाँसँग भेटघाट, छलफल गर्ने र उहाँको प्रतिभा बुझ्ने मौका पाएँ ।
पुण्य खरेल

पुण्य खरेलको सिर्जनात्मक परिचय पाउँदा मैले उहाँलाई पहिलोपटक कविको रूपमा चिनेँ । समालोचकको रूपमा धेरै पछिमात्र । शिशिरको नामबाट कविता लेख्नुहुन्थ्यो । काव्यिक चेतनाबाट परिचित कवि हुनुहुन्थ्यो । इलाममा बस्दा उहाँ र उहाँका अन्य साथीहरू मिलेर चलाएको एकलाइने कविताको अभियानको तरङ्ग काठमाण्डौंसम्म सुन्न थालिएको थियो । पछिल्लो समय उहाँको कविव्यक्तित्व ओझेलमा पऱ्यो । समालोचकीय व्यक्तित्व अघिल्तिर आयो । उहाँकै कैयौं साथीहरुलाई उहाँको कवि व्यक्तित्वबारे जानकारी नभएको पनि मैले पाएको छु । मूल्याङ्कन गर्दा उहाँको कविव्यक्तित्वलाई प्राथमिकताभन्दा बाहिर राख्नु हुँदैन भन्ने मलाई लाग्छ । त्यसो गरियो भने उहाँको सिर्जनात्मक योगदानको सही मूल्याङ्कन हुँदैन ।

उहाँसँगको एउटा प्रसङ्गमा मुछिएको सम्झना छ मेरो । त्यसबेला पुण्य खरेल  समालोचकका रूपमा परिचित भइसकेको समय थियो । 

उहाँको  'गरिमा’ पत्रिकाको फागुन अङ्क (२०६७) मा एउटा समालोचना छापिएको थियो -    'अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने शिर्षकमा । पछि त्यो समालाेचना  उहाँको कृति 'विचार र विश्लेषण' मा पनि छापियो । गरिमामा लेख पठाउँदा उहाँले ‘कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरु : ‘अनुहारहरु’ को सेरोफेरोमा’ भनी पठाउनु भएको रहेछ । शीर्षक नयाँ नाममा रूपान्तरण भए पछि पुण्य खरेल आगो हुनुभयो ।  'सोझोसिधा र स्पष्ट अर्थ लाग्ने शीर्षकलाई अनेकार्थी बनाएर अस्पष्टतामा पुर्‍याएको छ र  सङ्गतिगत, त्रुटिसमेत थपिदिएर मानक लेख्दा नेपाली भाषासमेतलाई होच्याएको छ ।' भन्ने गरिमाप्रति उहाँको ठुलो आरोप थियो । उहाँले  त्यसको  खण्डन गर्दै गरिमामा प्रकाशनार्थ एउटा आक्रामक आरोपपत्र  पठाउनु भयो । शीर्षक पनि अलिक कडा र आक्रोशपूर्ण थियो । 'साझा प्रकाशन कि फासिस्ट सेन्सर बोर्ड ?' भन्ने थियो । उहाँले गरिमामा खण्डनका लागि यो  सामग्री साझा प्रकाशनका तत्कालिन संचालक समिति सदस्य एवम् साहित्यकार  हरिगोविन्द लुईंटेल मार्फत् पठाउनुभएको रहेछ । मलाई त्यो खण्डनपत्र आइपुगेको जानकारी साझा प्रकाशनका साथीहरू मार्फत् भयो । पुण्य खरेलले त्यो खण्डन नछाप्ने हो भने मुद्धा हाल्छु भनेर भन्नुभएछ । उहाँले लेखेको सामग्री गरिमाले छाप्न सजिलो पनि थिएन । उहाँको खण्डनपत्र अलिक कडा थियो । उहाँलाई तपाईंले सम्झाइदिनु पऱ्यो भनेर साहित्यकार हरिगोविन्द लुईंटेलले मलाई भन्नुभयो । उहाँको स्वभाव मलाई पनि थाहा थियो  । त्यो खण्डनपत्र पठाएको जानकारी पुण्य खरेलले मलाई गराउनु भएको पनि थिएन  । मलाई उहाँलाई सम्झाउन पनि सजिलो  लागिरहेको थिएन । तर पछि त्यो प्रसङ्ग विस्तारै हराएर गयो ।

उहाँ वारम्बार मलाई झक्झक्याइरहनु हुन्थ्यो - 'तपाईं सेतो दरबारको छेउबाट' भन्दा 'यात्राको एउटा दृश्य'मा आइपुग्दा अलिकति बिग्रनु भयो । 'यात्राको एउटा दृश्य' भन्दा 'अनुहारहरू' मा आइपुग्दा अलिक धेरै बिग्रनु भयो । उहाँको आलोचनाप्रति मेरा आफ्नै धारणा थिए । जहिले पनि मलाई उहाँ झस्काइरहनुहुन्थ्यो । एकअर्थमा सचेत पनि गराइरहनु हुन्थ्यो । उहाँको चाहना मलाई प्रगतिवादी विचारबाट विचलित नहोस् भन्ने नै थियो । उहाँले मलाई बारम्बार यसरी सजग गराउनु हुन्थ्यो । गरिमामा प्रकाशित उहाँको समालोचना 'अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने लेखमा राम्रैसँग सङ्केत गर्नुभएको छ ।

आफ्ना लेखन मार्फत पुण्य खरेलले साहित्यलाई जीवन, समय र समाजसँग जोड्ने प्रयत्न गर्नुभयो । साहित्यकार पुण्य खरेलले नेपाली साहित्यमा अझ धेरै गर्न बाँकी नै थियो । प्रगतिशील / प्रगतिवादी साहित्यको समालोचना गरेर नक्कलीलाई  नक्कली र सक्कलीलाई सक्कली भनेर पाठकहरूलाई भ्रमबाट मुक्त गराउन उहाँजस्तो समालोचकको झन् धेरै खाँचो थियो । उहाँसँग त्यो काम गर्न सक्ने सामर्थ्य थियो । जुन काम पुण्य खरेलले गरिरहनु भएको थियो । प्रतिबद्ध र उद्देश्यपूर्ण समालोचनाको क्षेत्रबाट हेर्ने हो भने उहाँको निधन अपुरणीय हो । जसको अभाव प्रगतिवादी आन्दोलनमा  लामै समयसम्म खड्किरहने छ । उहाँले उहाँका कृतिहरू मार्फत्  दिनुभएको विचार नयाँ पुस्ताका लागि लामो समयसम्म मार्गदर्शक बनेर रहने छन् ।


000

Monday, February 17, 2025

Meeting between Devkota Lu Xun Academy and Confucius Institute ( Kathmandu University)


Devkota-Lu Xun Academy and Confucius Institute (Kathmandu University) had a cordial meeting today at the office of the Academy. The topic of the discussion was to work jointly to popularise Devkota in China and Lu Xun in Nepal. Similarly, both of the organisations decided to work to come into Cooperation in other related and useful areas like literature and culture in each other's countries. The members present from the Academy were Chairman Sunil Kumar Poudyal, Vice Chairman Matrika Pokharel,Vice Chairman Subash Shrestha Treasurer Krishna Prasai, Members Dr. Srijana Upreti, Sirjana Sharma. The delegates from Prof. Dr. Li Shuangcheng- Director, CIKU, Qiu Guangmin, Coordinator, CIKU, Ms. Zhang Hongwei, Lecturer - CIKU, Ms. Wang Liyan, Lecturer - CIKU.

000






































Saturday, December 14, 2024

साहित्यकार गोपाल अश्कको "लघुकथा प्रक्रिया र पाठ" माथि परिचर्चा



२०८१ साल मंसिर २९ गते  सिर्जना अभियान समाजको आयोजनामा भएको स्रष्टा संवाद तथा कृति विमर्श कार्यक्रममा स्रष्टा गोपाल अश्कलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा स्रष्टा समालोचकहरूले स्रष्टा गोपाल अश्कको सिर्जनाबारे विमर्श गरे ।
कार्यक्रममा प्रमुख वक्ता डा. पुष्करराज भट्टले स्रष्टा अश्क नेपाली लगायत भोजपुरी, हिन्दी र अंग्रेजी आदि विविध भाषाका साहित्यमा पनि कलम चलाउँदै आएका स्रष्टा बताउँदै उनले नेपाली लघुकथाको सिद्धान्तबारे पहिलो पटक कृति लेखेर यो विधालाई स्थापित गराउन महत्वपूर्ण योगदान गरेको बताए ।
कथाकार धुव मधिकर्मीले स्रष्टा अश्क लघुकथाका सर्जकका साथै द्रष्टा पनि भएको बताउँदै उनको हालै प्रकाशित लघुकथा प्रक्रिया र पाठ कृतिले नेपाली लघुकथाको समग्र रूपमा परिचय दिन सफल भएको उल्लेख गरे ।
साहित्यकार मातृका पोखरेलले स्रष्टा तथा समालोचक अश्कलाई शुभकामना दिँदै उनको कृति लघुकथा प्रकृया र पाठ परिवर्धित संस्करणको प्रकाशनले लघुकथाकारलाई फाइदा पुग्ने बताए ।
कार्यक्रममा लघुकथा लेखकहरू आर आर चौलागाइँ, ममता मृदुल र दीपक लोहनीले स्रष्टा अश्कका कृतिमाथि विविध जिज्ञासा राखेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको थियो ।

000